विद्वच्छिरोमणि पंं कुलचन्द्र गौतमको संक्षिप्त परिचय-प्रा.डा. माधवराज गौतम

0
Pandit-Kulchandra-Gautam

विद्वच्छिरोमणि कुलचन्द्र गौतम नेपाली माटोमा उदाएका सारस्वत पुरुष हुनुका साथै आफ्ना समकालीन विद्वान्हरूमा अद्वितीय पनि छन् । नेपाली र संस्कृतवाङ्मयमा समान रूपमा अव्याहत गतिमा कलम चलाउने विद्वच्छिरोमणिले संस्कृत भाषामा दर्जनौं काव्य, नेपाली भाषामा काव्य र काव्यशास्त्र रचना गरेर भाषाक भण्डार भएका छन् । यस अतिरिक्त, आयुर्वेद, कोश, कर्मकाण्ड जस्ता विषयमा पनि उपयोगी ग्रन्थ रचेर गौतमले आफ्नो बहुमुखी प्रतिभा, त्याग र निष्ठाको परिचय दिएका छन् । यसैले उनी संस्कृत तथा नेपाली साहित्याकाशमा अजर र अमर छन् ।
धादिङ्ग जिल्लाको जीवनपुर गाउँमा वि.स. १९३४ मा पं. रमाकान्त शर्मा ( गौतम ) का सुपुत्रको रूपमा विद्वच्छिरोमणि पंं कुलचन्द्र गौतमको जन्म भएको हो । आफ्नै बुबाको प्रेरणाबाट अध्ययनमा संलग्न भएका कुलचन्द्र गौतमले आफ्नो सबै अध्ययन राजकीय संस्कृत महाविद्यालय काशीबाट पूरा गरेका हुन् । उनी संस्कृतका विशिष्ट कविका साथै आयुर्वेद र दर्शनशास्त्रका पनि आधिकारिक विद्वान् थिए । संस्कृत वाङ्मयका प्राचीन आदर्शको अनुकूल व्यवहार गर्ने कवि गौतमले आफ्ना काव्यहरूमा पनि प्राचीन आदर्शलाई कुशलतापूर्वक उतारेका छन. । उनमा काव्यको अर्थ गर्ने अद्वितीय क्षमता थियो । संसारका धेरैजसो विद्वान्हरूबाट अर्थ लगाउन नसकिएको एउटा संस्कृत पद्यलाई अथ्र्याउने उद्देश्यले जर्मनीका विद्वान्हरूबाट पठाउँदा उनले व्युत्पत्तिपूर्वक त्यसको चौध अर्थगरेर पठाएको प्रसङ्ग यस सन्दर्भमा संस्मरणीय छ । उनलाई साहित्यमणि, साहित्यभूषण, विद्वच्छिरोमणि, प्रबल, गोरखा दक्षिणवाहु जस्ता विभिन्न पदवीद्वारा विभूषित गरिएको थियो । साहित्याचार्य सम्मका सबै परीक्षाहरूमा प्रथम श्रेणीमा उत्तीर्ण स्व. गौतमले महामहोपाध्याय गंगाधरशास्त्री तैलंग र उनका भाइ महामहोपाध्याय रामशास्त्री तैलंग जस्ता विद्वान्हरूसँग अध्ययन गरेका हुन् । आफ्नो अध्ययन कार्य समाप्त गरी उनी केही समय नेपालमा नै बसेपछि फेरि काशीतर्फ फर्किएका थिए । त्यहींबाट नै उनका विभिन्न कृतिहरू प्रकाशित भएका हुन् । आफ्नो साधनामय जीवनमा निरन्तर संस्कृत वाङ्गमय र मातृभाषा नेपालीको सेवामा समर्पित अद्वितीय प्रतिभाका धनी विद्वच्छिरोमणि कुलचन्द्र गौतम वि.संं. २०१५ सालमा काशीमा ब्रह्मलीन भएका हुन् ।
कवि कुलचन्द्रद्वारा आफ्नो साधनामय जीवनमा लेखिएका तीन दर्जनभन्दा बढी उच्चकोटिका कृतिहरू संस्कृत साहित्य र नेपाली साहित्यका अनमोल रत्नका रूपमा रहेका छन् । यस लेखमा तिनको संक्षिप्त परिचय प्रस्तुत गरिंदै छ । उनका प्रकाशित कृतिहरू निम्नअनुसार छन् । यसवाहेक दर्जनौं अप्रकाशित कृतिहरू पनि रहेका छन् ।

प्रकाशित कृति ः–
१. शोक महोर्मि
२. स्वयंवैद्य
३. कृष्णकर्णाभरण
४. अलङ्कारचन्द्रोदय
५. भागवतमञ्जरी (वि.संं.१९८४)
६. गङ्गागौरवम् ( वि.संं.१९९२)
७. प्रपञ्चचर्चा ( वि.सं. १९९३)
८. रामायणवन्दना (वि.सं. १९९३)
९. अमरकोश–परिशेष (वि.सं. १९९३)
१०. प्रेमपञ्चपञ्चाशिका (वि.संं. १९९५)
११. तुलसीदासकृत रामचरितमानसको भावबोधिनी नेपाली टीका( वि.सं.१९९६)
१२. भागवतवन्दना(वि.सं. २००५)
१३. विवाहपद्धति (वि.सं. २००७)
१४. आदर्शदम्पती सीतारामौ (वि.सं. २०१२)
१५. राघवालङ्कार (वि.सं. २०१५)
१६. अमरकोशको नेपाली टीका (वि.सं. २०२५)
१७. संस्कृत नेपाली शब्दकोश (वि.सं. २०५४)
१८. योगकौमुदी (वि.सं.२०५७)

यसवाहेक अन्य संस्कृत कविताहरू पनि विभिन्न पत्र–पत्रिकामा प्रकाशित छन् ।
स्रोत: गौतम बंशावली २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *