गौतम वंशको इतिहासका केही कुरा

गौतम वंशको इतिहासका केही कुरा – पं.टेकनाथ गौतम

पं वाणीविलासद्वारा वि.सं.१८५० मा रचित ४४ श्लोकको गौतम वंशावली (वंशपंक्ति ) मा शुक्लयजुर्वेदाध्यायी कर्मकाण्डी ब्राह्मण लल्लकका सन्तान काशीदास कन्नौजबाट धर्मरक्षार्थ शिष्यहरूका साथ सिंजा क्षेत्रमा आए भन्ने उल्लेख छ । अग्निहोत्री, अत्रिगोत्रीय ब्राह्मण काशीदास तत्कालीन सिंजा नरेशबाट सम्मानित भई जग्गा समेत विर्ता पाएर त्यसै क्षेत्रमा बसोबास गरेको विवरण उक्त लिखित कागजातबाट प्रमाणित हुन्छ ।

यसैगरी दाङ हापुर नारेवाङ्ग गढी टाकुरा देवस्थलको शिवालयको शिलालेखमा उल्लेख गरिएको छ ः
स्वस्ति श्रीगिरिराजचक्रपतिना संप्राथ्र्य सेंजापुरीम् ।
गंगोल्लासितकान्यकुब्जाविषयादानीयवृत्तिं स्थिराम् ।
दत्वा वैदिकधर्मपालनकृतेऽत्रेर्गोत्रिणामग्रणी ।
काशीदास इति श्रुतो बुधवरः संवासीतोऽभूत् पुरा ।

    यस शिलालेखबाट पनि कान्यकुब्जबाट आएका अत्रिगोत्रीय विद्वान् काशीदासलाई सिंजा नरेशले सम्मान विर्ता दिएर बसोबास गराएको प्रमाणित हुन्छ ।

सम्राट् हर्षवर्धनपछि हालका फर्रूखाबाद जिल्लाभित्र पर्ने कान्यकुब्ज (कन्नौज ) पूरा उत्तर भारतको ५०० वर्ष जतिसम्म प्रभावशाली राजधानीका रूपमा रहेको थियो । त्यहाँ तिब्बतको गुँगेबाट मानसरोबर, सिंजा (हाल जुम्ला जिल्लामा पर्ने), दुल्लु, सुर्खेत, श्रीवस्ती र साकेत (अयोध्या) हुँदै कन्नौज पुग्ने चल्तीको बाटो थियो । राजधानीका आसपासमा आफ्नो विद्याबुद्धिले राज्यको सेवा पु¥याउन सक्ने धेरै बाहुनहरू खेदिएका रहेछन् । कन्नौजमा केही समयसम्म गौडका पालवंशी राजाहरूको पनि अधिकार रहेको थियो । त्यहाँबाट ती पालवंशीहरूको वंशको प्रभाव बढ्दै गयो र सिंजालाई राजधानी बनाई ठूलो साम्राज्यको विस्तार गरे । पं.वाणीविलासद्वारा रचित सल्यानी राजवंशावली (वंशपंक्ति )अनुसार यता कन्नौजमा वि.सं.१२५०÷१२५१ तिर शाहबुद्दीन गोरीले आक्रमण गरी कन्नौज विजय गरेर त्यहाँका हिन्दु प्रजालाई जर्वजस्ती इस्लाम धर्म ग्रहण गराउने र अनेक प्रकारबाट दुःख दिने गर्न थाले । कन्नौजका नजिक हरियाना भन्ने गाउँमा अत्रिगोत्री ब्राह्मण बस्दै आएका रहेछन् । तीमध्येका लल्लकका खनाति, विलल्लका पनाति, भाष्करका नाति, प्रभाकरका छोरा ठूला विद्वान् काशीदास पहिलेदेखिका पालवंशी राजाहरूको सम्बन्धले हुन सक्छ, पालवंशीहरूबाट बोलाइएर या आफैं उपर्युक्त बाटोबाट शिष्यहरूका साथ सिंजा (हालको जुम्लाको उत्तरी भाग ) मा पुगी त्यहाँ विर्ता पाएर बसी राज्यको सेवामा लागे ।

    काशीदासका कति पिंढीपछिका सन्तान निम्बुक हुन् , उनका चार भाइ छोराहरूमध्ये जेठा गोलास्य सिंजामै बसेछन् । माहिला कापडि (काबु्र) लाई सम्राट्ले गोताम भन्ने ठाउँमा विर्ता दिई पठाएछन् । साहिला सिगरूलाई रारा दहको निकास खत्याड खोलामा विर्ता दिई पठाएछन् । कान्छा केदारलाई लेब्रम भन्ने ठाउँमा विर्ता दिई पठाएछन् । पछि यिनका सन्तानहरू क्रमशः गोतामे, खत्यौडा र मिश्र या ओस्ती भनिन लागेछन् ।

    गोलास्यका सन्तान मयराजले सिंजाली सम्राट् सम्भवतः अभयमल्लकी छोरीसित विवाह गरेछन् । उनका छोरा नहुँदा अभयमल्लकी छोरी र मयराजका छोरा गजभीम सिंजाली सम्राट् भएछन् । गजभीमकै नाति या पनाति मलयबम या मलयबर्मा ठूला प्रतापी राजा भएको थाहा लाग्छ । यिनले काठमाडौंसमेत जिती त्यहाँबाट कर लिने गरेका थिए । कान्तिपुरको नाउँ काठमाडौं बनाउने गोरखनाथको काष्ठमण्डप काठको मन्दिर यिनैले बनाएका हुन् भनी इतिहास लेख्ने मोहनबहादुर मल्लले लेखेका छन् । यिनले तराईबाट सिंजासम्म हात्ती हिंड्न सक्ने बाटो बनाउन लगाई सिंजामा हात्ती पु¥याई ढलौटे मूर्तिसमेत राख्न लगाएका छन् । उनको त्यहीनेरका रैका साँघुनेर वि.संं.१४४२ को शिलालेख पाइएको छन् ।

    हाम्रा जेठातिरका भैयाद उपर्युक्त मलयवर्माका मेदिनी वर्मा, सुल्तानबम, प्रितमबम र सुरतिबम ४ छोरा थिए । जेठा मेदिनी वर्मा ( चल्तीको नाम जक्तिपुर ) ले पुख्र्यौली राज्य समाली हिउँदे राजधानीका निम्नि जाजरकोटभित्र जक्तिपुर बसाली त्यसलाई सिंगार्न लागे ।

    माहिला सुल्तान बलमे वनगाड् ( कसैका लेखाइमा कालगाउँ ) जिती त्यहाँका राजा भए । साहिला प्रितम बम (पृथ्वी बम, पीताम्बर बम ) खस मगरहरूका आह्वानमा वोगसा भन्ने जाट (जार) लाई मारी सापकोट ( वर्तमान रुकुम कोट) का राजा भए । कान्छा सुरति वमलाई पर्वतका मगरहरूले राजा बनाउन लगे । तिनका सन्तानपछि गलकोट र घिरिंगका राजा भए । यिनै गल्कोटकै राजाका सन्तान हालका नेता हृषीकेश शाह हुन् ।
    यसरी कन्नौजबाट सिंजा पुगेका काशीदासका सन्तानका बाहुनी पट्टिका सन्तान खत्यौडा, गोतामे, मिश्र , ओस्ती , मानिएर जताततै फिंजिए । तिनै गोतामेका सन्तान हालको रोल्पा जिल्लाको रुमटीमा जन्मेका वासुदेव बाहुनका नाति अनिरुद्ध खत्रीका छोरा नारायण खत्री गोतामे बाल्यावस्थामा नै सन्यास लिई हंसानन्द गिरी भनिन लाग्नुभएको थियो । प्यूठान जिल्लाको पहाडको टाकुरामा उहाँले १९५२ सालमा स्थापना गर्नुभएको यज्ञाश्रम स्वर्गद्वारी आश्रमका नामले प्रसिद्ध भई अहिले १०५ वर्षसम्म यथावत् चल्दै मात्रै छैन कि उत्तरोत्तर यसको प्रतिष्ठा बढ्दैछ । आश्रम स्थापना गरेपछि हंसानन्द गिरीजी “ स्वर्गद्वारी प्रभु ” नामले प्रसिद्ध हुनुभएको थियो । वहाँ १९९७ सालमा ब्रह्मलीन हुनुभयो । ३ वर्षअघि त्यसको शतवार्षिक समारोहको उद्घाटन तत्कालीन श्री ५ महाराजाधिराजबाट गरिबक्सेको हो । त्यहाँ नेपालबाट भन्दा भारतबाट बढी दर्शनार्थी आउने गर्दछन् ।
    ठकुर्नी पट्टिका एक सन्तान अछाम, दुल्लु , दैलेखका राजा  भए । काशीदासकै केही पिंढी पछिका सन्तानले राजाकी आर्की छोरीसँग विवाह गरेर तिनका जेठा सन्तानपट्टि मलय वर्मा भए भन्ने कुरा माथि लेखियो । मलयवर्माका जेठा छोरा मेदिनी वर्मा जाजरकोटका राजा भए । तिनका सन्तान पछि दर्ना, धुलिकोट, खाँडाचक्र, सान्नी, ज्याकोटका राजा भए ।

    माहिला सुल्तान बमका सन्तान सल्यानका राजा भए । तिनका सन्तान साउँकोट, मानेटा र फलावांगका पनि पछि राजा भए । साहिंला प्रितम वमका सन्तान पछि मुसिकोट, जहारी, वाफी, आठविस , गोताम, खगेना र गुर्ता समेतका राजा भए ।
    पूर्वाञ्चलनिवासी मेरै समान नाम भएका टेकनाथ गौतम शास्त्री र विद्वत् शिरोमणि कुलचन्द्र गौतमले हामी गोतामे पुर्खा औरंगजेवको शासनकालमा भरतबाट नेपाल पसेका भन्ने लेखेको कहीं पढेको छु । मैले आदरणीय उक्त विद्वान्हरूको लेखलाई खण्डन गर्न खोजेको होइन वस्तुस्थितिलाई यथार्थ देखाउन खोजेको मात्र हुँ । उहाँहरूले कन्नौज र काशीदासको नाम लेखेको जस्तो मलाई लाग्दैन । आउने काशीदास र छाडेर आएको ठाउँ कन्नौज भन्ने कुरा उपर्युक्त शिवालयमा उल्लेखित शिलालेखको संस्कृत उद्धारणका पद्यहरूबाट निश्चित हुन्छ ।
    आएको समयको विषयमा सोच्दा उहाँहरूको भनाई औरंगजेवको शासनकालमा भन्ने छ । औरंगजेवको शासन भरतमा सम्वत् १७१५–१७७४ सम्म चलेको थियो । हामी हापुरे भनिने दाङ्गका गौतमहरूका पुर्खाहरू सम्वत् १४८० देखि  १४८८ सम्ममा गोतामबाट दाङमा आएको प्रमाणित छ । उता मलयवर्माको सम्वत् १४४२ को रैंका साँघु भन्ने ठाउँमा शिलालेख पाइएको छ । हामी दाङमा गएको समयभन्दा अढाई सय वर्षपछि र मलय वर्माको समयभन्दा ३०० वर्षजति पछि औरंगजेवको शासन चलेको देखिनाले हाम्रा र मलयवर्माका पुर्खा काशीदास औरंगजेवको शासन कालमा भारतबाट पहाड पसेका भन्न मिल्दैन ।

    सिंजाको इतिहासको डोरेटो भनी कोर्ने मोहनबहादुर मल्लले उक्त पुस्तकको पेज ३८ मा सल्यानी जाजरकोटे आदि बाइसी प्रदेशका राजाहरू र हामी गोतामे, खत्यौडा, मिश्र , ओस्ती आदि बाहुनका मूल पुर्खा काशीदासलाई कन्नौजबाट बाहुनका भेषमा आएका राठौरवंशी क्षेत्री थिए भन्ने लेखेको देखिन्छ । अहिलेसम्म प्राप्त वंशावली सबैमा काशीदासलाई व्राह्मण नै लेखिएको छ । क्षेत्री भन्ने कही लेखिएको छैन । उहाँले सो किताबमा लेखेको यस्ता गलत कुरा सप्रमाण खण्डन गर्ने हो भने त्यो भन्दा ठूलो किताब तयार हुन्छ । मल्लजीको लेखाइअनुसार काशीदासलाई हामीसित भएका प्रमाणअनुसार काशीदासका सन्तानलाई सिंजा सम्राटकी छोरीले आफूलाई बाहुनलाई दिन लागेको थाहा पाई छोरी हारमता मैयाले मलाई वामनी भन्ने होकि रानी ? भन्ने हो भनी सोधिन् भन्ने कुरा मल्लजीले आफैं लेख्नुभएको छ । हारमताको विवाह बाहुनसँग गरिदिएको र उनलाई सामाचौर विर्ता दिएको हुनाले हारमताका सन्तान समाल भनिएर र त्यही समाल शब्द हमाल बनेको हुनाले अहिलेसम्म बाहुनबाट ठकुर्नीमा जन्मेका सबै ठकुरीहरूले आफूलाई हमाल लेख्दै छन् ।
    अर्को कुरा हाम्रा पुराण, धर्मशास्त्र र २०२० सालभन्दा अघिका ऐनमा अत्रिका जातअनुसार बाहुनबाट ठकुरी क्षेत्री आदि पैदा हुने व्यवस्था छ । तर क्षेत्रीबाट बाहुन पैदा हुने कही व्यवस्था थिएन । यस हालतमा हामी गोतामे , खत्यौडा आदि बाहुन पुर्खा काशीदासलाई क्षेत्री थिए भन्नुभन्दा हास्यास्पद के हुन सक्छ ? त्यसै गरी कुनै वंशावलीमा काशीदासदेखि मलय बर्मासम्म २०–२१ पुस्ता बितेको देखाइएको छ । २०–२१ पुस्ता बित्नलाई ४०० वर्ष जतिको समय चाहिन्छ ।
    मलयवर्माको समयदेखि ४०० वर्षअघि काशीदास आएको भन्नलाई त्यो बेला सिंजामा बलियो साम्राज्य खडा भएको थिएन । उता कन्नौजको स्थिति पनि उत्कर्षमा थियो । त्यो बेला कन्नौजमा मुस्लिमहरू पस्न पाएका पनि थिएनन् । त्यस हालतमा काशीदासले मुसलमान भरिएकाले यहाँ बस्न भएन भनी कन्नौज छोडेर सिंजा आउनुपर्ने परिस्थिति देखिन्न । अतः वि.सं. १२५१ मा शाहवुद्दिन गोरीबाट कन्नौजमा भएको आक्रमणपछि मात्र काशीदास पहाड पसेको देखिन्छ र काशीदास आएका समयदेखि मलयवर्माको १४४२ को समयसम्म १८०–९० वर्षमा २०–२१ पुस्ता बित्न नसक्ने हुनाले वंशावलीको त्यो संख्या ठिक ठहर्दैन ।
कापडीलाई गोताम पठाएको र उनीहरू गोतामे भनिन लागिएको कुरा माथि लेखियो साधारणतः । सबै हामीले गोतामबाट आएको हुनाले गोतामे कहिन्छौं भन्दछौं । बसेको या आएको ठाउँबाट थर बन्ने भए हामी पहिले सिंजाबाट आयौं । त्यसपछि कैयौं गोतामेहरू अरू ठाउँबाट अरू ठाउँमा सरे हुन् । ती ठाउँको नामबाट थर बन्न पर्ने, त्यसो भएको देखिन्न ।

    म २०३० सालतिर गोताम हेर्न गएको थिएँ । गोतामको लेकका चुलीमा सधैं हिउँ रहिरहन्छ । सो हिउँ चुलीका धेरै तल पश्चिमतिर फर्केको ठूलो गोताम इलाका छ । हिउँचुलीबाट निक्लेर पश्चिमतिर भेरी नदीमा मिसिने सानो खोलाले गोतामलाई २ भागमा विभाजन गरेको छ । खोलाको उत्तरमा राजा बस्ने भागको ठाउँलाई कोट गोताम भनिन्छ । दक्षिणतिरको रिभ्क अथवा विर्ता गोतमनै गोतामेहरूको निवास हो । त्यहाँ अब खत्री गोतामे मात्र छन् । बाहुन गोतामे एक जना पनि छैनन् । संयोगले एउटा ठूलो घरमा मैले ८५ वर्षकी तर तगडा नेता खालकी रिजाल्नी बाहुनी कहाँ डेरा गरेछु । उनी बाहुन गोतामेकी छोरी रहिछन् । उनीसित फुपू, हामीले गोताम छाडी गएका हुनाले गोतामे भनिन्छौं भन्ने सोच्थ्यौं । यही बस्ने पनि गोतामे भनिदा रहेछन् । फेरी यहाँ बसेर गोतामे भनिने भए तपाईहरू रिजाल कसरी हुनुभयो ? अर्को कुरा विर्ता गोताममा मैले बाहुन गोतामे कोही पनि पाइँन किन हो भनी सोधेपछि उनले माइतीको गावै देखाउँदै भनिन् ः जसलाई राजाले गोताममा विर्ता र गोतामे भन्ने मान दिएका गिए तिनले पो आफूलाई गातामे भनी लेख्न पाएछन् । जल्ले पायो उसले गोतामे लेख्न पाईदैन । गोतामेहरू धेरै पढेका र पुरेत्याईं गर्न जान्ने हुन्थे । त्यसै कारणले अन्यत्रबाट मानिस आई बाहुन जातिलाई लिई गए ।

    नपढेकाहरूले यहाँ खत्रिनी, मगर्नी स्वास्नी ल्याए तिनका सन्तान खत्री गोतामे भए । त्यसैले यहाँ बाहुनको बस्ती कम छ । तिमीले उपाध्याय बाहुन त यहाँ पाउँदैनौं । तल भेरीको तिरमा दत्तु जैशी छन् भन्ने जवाफ दिइन । अनि मैले भेरीका तीरको धरवाडा भन्ने ठाउँमा दत्तु जैशीलाई भेटेर सोधे, उक्त कुरा सोध्दा हाम्रा मूल पूर्खा काशीदास हुन् । गोतामे राजाले दिएको पद हो , भनेबाट सिंजाकोएक अभिलेखमा मलयराजभन्दा पनि अघिका बाहुनलाई कुनै सिंजा पतिले बाहुनलाई छोरी दिंदा सामाचौर विर्ता र समालपद दिएका थिए भन्ने कुरा माथि नै लेखियो । दाङ्गका पोख्रेल बाहुनलाई दाङ्ग छिल्लीका राजा वीरभद्रले गरिदिएको दानपत्रमा मजगाउँ विर्ता बक्स्यौं र मजगैया पद पायौं भन्ने लेखिएको हुनाले र त्यसपछि दाङ्गका ती पोखरेलहरू मजगैया भनिन लागेकाले गोतामे शब्द गोताममा बसेकाले र गोताम छाडी हिडेकाले बनेको थर होइन किन्तु राजाले विर्ताका साथै दिएको पदवी हो । हाम्रो थर खास गोतामे नै हो । गोताम छाडी हिडेकाले बनेको थर  होइन किन्तु राजाले विर्ताका साथै दिएको पदवी हो । हाम्रो थर खास गोतामे नै हो । गोतामे जस्तो एकारान्त शब्द संस्कृतमा नभएको हुँदा त्यसबाट विभक्ति ल्याई प्रयोग गर्न र अर्थ बुझाउन असजिलो पर्ने हुनाले तथा गोतामबासीलाई बुझाउने पद दिंदा शुद्ध पद संस्कृत व्याकरणको ( सोऽस्य निवास ) भन्ने नियमले गौतम शब्द बन्ने हुँदा पहिले विद्वत् शिरोमणि कुलचन्द्र र त्यसपछि मेरा दाजु पं.शालिग्रामले गौतम लेख्न लगाउन थाल्नु भयो । पछि सबैले गौतम लेख्न लागेका हुन् ।
गोतामेहरूले मष्टा या मष्टो भनी कुल देवताको पुजा गर्छौं । मादि ष्टान्तो रूमादिर्लः पालान्तो वंश गोमुखौ राहान्तो वो ब्राह्मणानां पञ्चैता ः कुलदेवता ः ।
प्राचीन परम्परादेखि प्रसिद्ध भई आएको उपर्युक्त श्योकमा मष्टा, रूमाल, वंशपाल, गोपाल र बराह यी ५ ब्राह्मणहरूका कुलदेवता हुन् भनिएकोले मष्टा नै हाम्रा कुलदेवताको नाम हो । मष्टो होइन ।
अब यी मष्टा भनेका को हुन् त भनी जान्न खोज्दा मष्टाकन आछाम र जाजरकोट जिल्लामध्ये पैंक गा.वि.स. अन्तर्गत विजुली डाँडाका स्थान मुख्य मानिन्छन् । अछामको कुरा थाहा छैन, विजुली डाँडामा शिवलिंगलाई मष्टा भनी पुज्दछन् । त्यहाँ बलि पनि चढाइन्न भन्ने कुरा मेरा दाजु र त्यही गई आएका कैयौं मानिसहरूबाट मैले सुनेअनुसार मष्टा भनेको शंकर हुन भन्ने स्पष्ट हुन्छ ।
    अब १२ भाई भष्टा भन्ने चलन छ । ती को हुन् ? कसरी १२ भाई भए ? भन्नलाई एकादश रुद्रमा महेशलाई  थपेर १२ पु¥याइएको हुन सक्छ । कसैले दुधे, कसैले अर्कै नामका मष्टाहरू भन्छन् । ती एकादश रुद्रका अलग–अलग नाम भए झैं आफूखुशी राखिएका नामहरू हुन सक्छन् । त्यो भन्दा पनि उपयुक्त कुरा मलाई के लाग्छ भने पहिले मष्टा भनेका शंकर हुन् भन्ने थाहा पाउन्जेलसम्म सबैले दूधको धारा चढाई पुज्ने गरेका हुँदा हुन् । पछि –पछि आफ्ना इष्ट देवताका पूजा –आराधनाको पूर्णता बलि दिएर मात्र मान्ने मासु खाने खस मगरको समाजका हाम्रा पुर्खाहरू बसेका हुनाले तिनैका चलनको अनुकरण गरी बलि दिन थालियो होला र बलि चढाउन लागेपछि दूध चढाइने र बलि चढाइने मष्टालाई अलग–अलग मानी दुधे मष्टा, दाह्रे मष्टा आदि नाम राखिएको हुनसक्छ । उल्टो बलि दिई काट्ने चलन किन चल्यो त ? भनी शंका गर्दा हाम्रा समाजमा धेरै कुराहरू मुसलमानहरूबाट पनि आएका छन् । मुसलमानहरूले  जवह(बलि) दिंदा बलिलाई उल्टो गरी रेट्छन् । तिनकै देखासिकी यो उल्टो गरी बलि दिने चलन चलेको हुनुपर्छ ।

हाम्रा पुर्खाहरू वि.सं. १४८०–८५ तिर यस ठाउँमा आएको प्रमाणित हुन्छ र यही ठाउँ विर्ता पाई बसेका हौं । अहिलेसम्म यो जमिनमा अविच्छिन्न अधिकार छँदैछ । यसका साथै हामीहरूमा रहेको अर्को विर्तामा गई बसेका बेलामा गाउँका मानिस विरामी परेको बखत मष्टा चढे भन्दै कामेर भूत, बोक्सी धपाउने चलन थियो । काम्नेलाई डाँगर भन्दथे । हाम्रा २ काकाहरू गोवर्धन र लीलाधर डाँगर हुनुहुन्थ्यो । उहाँहरू स्वर्गीय भएपछि मलाई डाँगर बनाउन ठाउँ ठाउँमा डाँगर र धामी झाक्री ल्याई कोशिस गरिएको थियो तर उनीहरूले कति प्रयास गर्दा पनि म दृढ रहेकोले कमाउन सकेनन् र हाम्रो माइला दाइको छोरा वामदेव (जो पछि खरदार भए ) लाई डाँगर बनाएका थिए । २००२ सालतिरबाट क्रमशः ः विस्तारै विस्तारै  यो काम्ने चलन छुट्दै गयो ।
भारतमा पनि गौतम थर भएका मानिस पाइन्छन् । अघि मैले इलाहावादमा पढ्दा भारतीय कांग्रेसका नेता मोहनलाल गौतमजीलाई पनि गौतम थरको बारेमा सोधेको थिएँ । उहाँले हाम्रो अत्रि गोत्र होइन भनी अर्कै गोत्र बताउनुभएकोथियो र गौतम थरबारे उहाँले बाउ बाजेको लेख्दै आएको हुनाले मैले पनि लेख्ने गरेको हुँ किन लेख्ने गरेको भन्ने कुरामा मैले छानबीन गरेको छैन भनी पन्छिनुभएको थियो । त्यसपछि भारत वहराइचका शेखर सिंह गौतम भन्ने इतिहासका अन्वेषक १७–१८ सालतिर मेरो घरमा आई निकै दिन बस्नुभएको थियो । उहाँले आफूलाई गौतम गोत्री बताउनुहुन्थ्यो । त्यसकारण नेपालबाट गएका गौतमबाहेक भारतीय गौतमसँग हाम्रो कुनै सम्बन्ध छैन ।
दामोदर पाण्डेका पालामा नक्साका टोलीमा काठमाडौं आई  ३ महिनापछि सुगौलीमा बसेका हेमिल्टनले पश्चिम नेपालको इतिहास बुझ्न पैसा दिई मानिस पठाई तिनले दिएको रिपोर्टअनुसार र कर्क पेट्रिकको लेखाइका आधारमा नेपालको इतिहास भनी लेखेका छन् ।
त्यसमा उनी भारतबाट डिम्बाराय भन्ने गोतामे बाहुन ताकम (थाक) भन्ने ठाउँमा पुगे । त्यहाँका कुनै ठूला राजाकी एकमात्र सन्तान छोरीसँग विवाह गरे । राजाकी छोरीबाट उनका २२ भाइ छोरा भए । ती छोराहरूले सो राज्य  बाँडेर २२ भाग लगाएकाले ती बाइसे राज्य भनिए भनेर जाजरकोटी, सल्यानी आदि राजाहरू र हामी गोतामेहरूलाई पूर्वदेखि पश्चिम लागेका र साथै उनले डिम्बाराय गोतामेको सम्बन्ध इलाहावादको नजिकका प्रभावशाली गौतम राजपुतसँग हुन सक्छ भन्ने देखाएका छन्, यो कुरा विल्कुलै  नमिल्दो र असत्य तथा काल्पनिक कुरा हो ।
यस्तो नमिल्दो कुरा कसरी लेखे हुन् भनी सोद्धा उनको इतिहास बुझ्न पठाएका मनिसहरूले उनलाई इतिहासको सूचना दिंदा, जाजरकोटी सल्यानी आदि बाईसे  राजाहरूका पुर्खा मलयवर्मा या वर्मा हुन् भन्ने सम्म दिए हुन् बुझ्नेलाई नै थाहा नभएकाले ती मलयवम सिंजाली हुन् भन्ने दिएन हुन् । यता सिंजालीमलयवमका कान्छा छोरा सुरतिवमलाई पर्वतमा लगी राजा बनाए भन्ने कुरा माथि लेखिसकिएको छ । यिनै पर्वते राजा सुरती वमका कैयौं पिढीपछिका सन्तान मलय वम भन्ने नामका थिए । यिनी पनि निकै प्रतापी विद्वान् थिए भन्ने बुझिन्छ । उनले मल्ल आदर्श नामको संस्कृतमा किताब लेखेका छन् । त्यसको आदिमा निम्न लिखित श्लोक छ ः
राज्ञी महत्य बसन्तोराजा च श्रीमल्लै वम्म ः
अज्ञोद्धारकृतेऽमुं कुरूते ग्रन्थं महारत्नम् । ।
यिनै दोस्रो पर्वतका मलय बमलाई सल्यानी जाजरकोेटेका पुर्खा सम्झी हेमिल्टनले त्यसो सम्झी त्यस्तो लेखे होलान् जस्तो मलाई लाग्छ ।