भवानी गौतमको संक्षिप्त जीवनी – खेमलाल गौतम
नाम : पंं.भवानीप्रसाद गौतम
जन्म मिति : १९९० साल जेष्ठ १ गते
जन्म स्थान : ताप्लेजुङ्ग , साङ्गलुप्पा गाउँ
हालको ठेगाना : झापा दमक, हाल विराटनगर न.पा. मोरङ्ग
पिताको नाम : बलराम गौतम
माताको नाम : गायत्रादेवी गौतम
पत्नीको नाम : पुष्पादेवी गौतम
छोराको नाम : (१) तोयनाथ गौतम (२) थलीन्द्रनाथ गौतम
छोरीको नाम : (१) मुनादेवी (२) खेमकुमारी
गौतम वंशका कुलमणि पं.भवानीप्रसाद गौतम लगभग आधा शताब्दीदेखि गौतम वंशको खोज–अन्वेषणमा संलग्न कुलमणि नै हुनुहुन्छ । ताप्लेजुङ्ग जिल्लाको साङ्गलुप्पा गाउँ जस्तो अति दुर्गम क्षेत्रमा १९९० सालमा जन्मनुभएका तीक्ष्ण बुद्धिका धनी भवानीज्यूले बाल्यकालमै माता–पिताको मृत्युपछि अनेकौं दुःख –कष्ट सहनुप¥यो । गाउँघरमै प्रारम्भिक शिक्षा हासिल गरेर शिक्षक भई औपचारिक नर्मल शिक्षा पास गरेका पं.भवानीज्यूले स्वाध्ययन बढाएर संस्कृत शिक्षा समेत हासिल गर्नु भएको कुरा उहाँले सप्ताह यज्ञमा भागवतको वाचन र व्याख्यान गरेबाट पनि स्पष्ट हुन्छ । १५ वर्षकै उमेरमा २००५ सालदेखि शिक्षा पेशामा लागेर उहाँले २०१२ सालसम्म आफ्नै गाउँमा अनौपचारिक ढङ्गबाटै पाठशाला खोल्नुभयो र गाउँले बालबालिकालाई शिक्षा दिने काम गर्नुभयो । यस क्रममा नर्मल स्कूल तालिम हासिल गरेपछि २०१३ सालदेखि आफनै गाउँ साङ्गलुप्पामा महेन्द्र सुबोधिनी विद्यालय आफ्नै सक्रियतामा स्थापना गरेर प्रधान अध्यापक भई अध्यापन कार्यमा उहाँ संलग्न हुनुभयो ।
यसै बीचमा कृषि गणनाको मुखिया, अदालतको नौसिन्दा, जनगणनाको मुखिया, भूमि सुधारको खरिदार आदि पदमा काम गर्दै सोही अवधिमा नै समय मिलाएर भवानीज्यू २०१६ सालदेखि वंशावली सङ्कलन कार्यमा लाग्नुभयो ।
ज्योतिष विद्यामा समेत प्रवीण भवानीज्यूले पञ्चाङ्ग(पात्रो) लेख्ने, प्रकाशन गर्ने आदि कार्य गर्नुभएको पाइन्छ । २०२३/०२४ बाट उहाँले साहित्य क्षेत्रमा तुवाँलो र मुहान नामक पत्रिका प्रकाशन गर्नुका साथै विभिन्न लेखहरू लेख्ने कामलाई निरन्तरता दिंदै आएको पाइन्छ ।
यस बाहेक विभिन्न ठाउँमा विद्यालय, धर्मशाला, पाटी–पौवा, देवालय आदि स्थापना तथा संचालनमा समेत उहाँको योगदानका साथै गौतम वंश सेवा समिति, झापाको स्थापना उहाँबाट भयो । हाल उहाँकै संरक्षकत्वमा यो संस्था सञ्चालित छ । २०२५ सालमा ताप्लेजुङ्गबाट बसाइँ सरी झापा दमकको बसोबासपछि २०२७ सालपछि झापा ढुकुरपानीमा अध्यापन पश्चात् दमककै भाङ्गबारीमा आफ्नै सक्रियतामा विद्यालय स्थापना तथा सोही विद्यालयको प्रधानाध्यापक भई २०४३ सालसम्म कार्यरत रहनुभयो ।
यसै बीच गौतम वंशावली खोज तथा प्रकाशन जस्तो कठिन कार्यलाई निरन्तरता दिंदै अनेकौं दुःख–कष्ट सहेर देश – विदेशका विभिन्न ठाउँहरूमा पुगेर सबै गौतम परिवारलाई एकसूत्रमा गाँसेर वंशावली प्रकाशन गरी गौतम वंशका कुलमणि बन्नुभयो ।
२०४३ सालदेखि अध्यापन पेशाबाट अवकाश लिएर हाल अद्वैत संस्थामा संलग्न भई महाविद्यालयको प्रमुख देशिक भएर मेचीदेखि महाकालीसम्म धार्मिक कार्यरत रहनु भएको छ । भवानीज्यूले वंशावली सङ्कलन तथा प्रकाशन जस्तो कठिन कार्य गरी जग बसाइ दिएर २०३९ सालदेखि यस कार्यलाई संस्थागत रूपमा अघि बढाउने भनी संस्थालाई जिम्मा दिनुहुने भवानीज्यूको यस कार्यलाई निरन्तरता दिनु हामी सबै गौतम परिवारको जिम्मेवारी भएको छ । गौतम वंशका कुलमणि श्री भवानीज्यूको यस कार्यलाई निरन्तरता दिने ममा त्यति क्षमता नभए तापनि यस कार्यबाट प्रभावित भई उहाँकै प्रेरणाबाट २०४२ सालदेखि म खेमलाल गौतम वंशको खोज (वंशावली सङ्कलन) कार्यमा लागि उहाँको कार्यलाई निरन्तरता दिने प्रयास गर्दै आएको छु । १५ वर्षको अवधिमा जे जति नयाँ पुस्ता तथा छुट नामावली सङ्कलन भयो रगौतम समाज काठमाडौंद्वारा सङ्कलित नामावली तथा अन्य सङ्कलकहरूद्वारा सङ्कलित नामावली समेत समावेश गराई गौतम समाज काठमाडौंद्वारा प्रकाशित यो वंशावलीमा पनि अझै धेरै छुटेको हुन सक्छ । अथवा गल्ती पनि हुन सक्छ । तसर्थ सम्पूर्ण गौतम बन्धुहरूमा सविनय अनुरोध यो छ कि भुलभए सच्च्याउनका लागि छुट भए समावेशका लागि गौतम समाजमा सम्पर्क, पत्रव्यवहार र स्वयं सरिक भई कार्य गर्न पनि विनम्र अनुरोध गर्दछु ।
पंं भवानी गौतमद्वारा रचित तथा प्रकाशित कृतिहरू
१) गौतम कुलको सुन्दर कुसुम २०१७
२) गौतम वंश बटवृक्षाकार २०२४
३) गौतम वंश परिचय प्रमाण २०२७
४) गौतम वंशावली लता २०३१
५) गौतम पुस्तावली नामाङ्क २०३२
६) गौतम वंशावली छन्दोबद्ध २०३३
७) गौतम वृहत् अत्रिदर्पण २०३७
८) गौतम कुलदेवता पूजा २०३८
९) कपिललता २०३५
१०) गौतम अत्रिवंश दर्पण २०३९
स्रोत: गौतम बंशावली २०६९