गौतम बन्धु राष्ट्रिय समाज खारेज नहुने सर्तमा मात्रै वार्ता अघि बढाउने निर्णय
काठमाडौं । गौतम समुदायको एकता, सामाजिक सद्भाव र साझा हितलाई केन्द्रमा राख्दै गौतम बन्धु राष्ट्रिय समाज, केन्द्रीय कार्यसमितिले संस्थाबीचको एकीकरणसम्बन्धी वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ। तर, गौतम बन्धु राष्ट्रिय समाज खारेज नहुने स्पष्ट सर्तमा मात्र वार्ता अघि बढाउने निर्णय गरिएको छ।
समाजका अनुसार दुई संस्थाबीच एकीकरणसम्बन्धी लिखित सम्झौता २०८३ साल जेठ ११ गते सम्पन्न भएको थियो। सम्झौताअनुसार विशेष साधारण सभा आयोजना गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने सहमति भएको थियो।
त्यसपछि २०८३ जेठ १७ गते बसेको दोस्रो संयुक्त बैठकले एकीकरण कार्यान्वयनका लागि विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको थियो। संस्थागत तथा कानुनी प्रक्रिया अघि बढाउने समिति, विशेष साधारण सभा तयारी समिति र विधान संशोधन समिति गठन गरिएका थिए।
तर, संयुक्त बैठकबाट गठन भएको संस्था अध्यावधिक तथा कानुनी प्रक्रिया अघि बढाउने समितिले अपेक्षित रूपमा काम गर्न नसकेको र पटक–पटक सम्पर्क गर्दा पनि आवश्यक सहयोग प्राप्त नभएको समाजको दाबी छ। यसबाट एकीकरणसम्बन्धी सम्झौताको कार्यान्वयन प्रभावित भएको समाजले जनाएको छ।
यसैबीच, एकीकरण प्रक्रिया अघि बढाउने क्रममा विभिन्न गतिविधि तथा नयाँ समिति गठनसम्बन्धी पत्राचार प्राप्त भएको उल्लेख गर्दै गौतम बन्धु राष्ट्रिय समाजले आफ्नै संस्थागत अस्तित्व र विधानको व्यवस्थालाई महत्वपूर्ण आधारका रूपमा लिएको छ।
समाजको केन्द्रीय कार्यसमितिले गौतम बन्धु राष्ट्रिय समाजलाई खारेज नगर्ने गरी, “गौतम बन्धु राष्ट्रिय समाज (गौतम समाज २०५४)” को अस्तित्व कायम रहने अवस्थामा मात्र एकीकरणसम्बन्धी वार्ता अघि बढाउने निर्णय गरेको छ।
समाजले प्राप्त सुझाव तथा कार्यसमितिको निर्णयका आधारमा संस्था खारेज नगरी नियमअनुसार वार्ता खुला राख्ने र सम्बन्धित पक्षसँग संवादलाई निरन्तरता दिने जनाएको छ।
साथै, गौतम बन्धु राष्ट्रिय समाजले आफ्नो विधान, उद्देश्य तथा प्रचलित कानुनअनुसार संस्थाका नियमित गतिविधिहरू सञ्चालन गर्दै अघि बढ्ने निर्णय गरेको छ।
समाजले गौतम समुदायको दीर्घकालीन एकता, आपसी सद्भाव र हितप्रति आफ्नो प्रतिबद्धता यथावत रहेको स्पष्ट पार्दै सम्बन्धित सम्पूर्ण बन्धुहरूलाई संयम र आपसी समझदारीका साथ अघि बढ्न आग्रह गरेको छ।