हाम्रो बारे

गौतम बन्धु राष्ट्रिय समाज

गौतम बन्धु राष्ट्रिय समाज गौतम समुदायको ऐतिहासिक पहिचान, वंश परम्परा, सामाजिक एकता, आपसी सद्भाव र साझा हितलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित सामाजिक संस्था हो। समाजले देश तथा विदेशमा छरिएर रहेका गौतम बन्धुहरूलाई एउटै भावनात्मक सूत्रमा जोड्दै आफ्नो मौलिक इतिहास, वंशावली, उद्गमस्थल र सांस्कृतिक सम्पदाको संरक्षणसँगै सामाजिक गतिविधिलाई संस्थागत रूपमा अघि बढाउँदै आएको छ।

ऐतिहासिक पृष्ठभूमि

नेपाली इतिहासमा अत्रि गोत्रीय गौतम, खतिवडा, चापागाईं, वस्ती, ओझा, मिश्र, ठाडाराई, अधिकारी लगायतका वंश तथा समुदायले राष्ट्रनिर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको इतिहास पाइन्छ। विभिन्न कालखण्डमा देशका राजा तथा रजौटाहरूलाई ज्ञान, बुद्धि, विवेक र प्रशासनिक दक्षताका माध्यमबाट सेवा गरी मानसम्मान, विर्ता तथा पदवी प्राप्त गर्ने गौतमहरूको आफ्नै विशिष्ट ऐतिहासिक पहिचान रहेको छ।

गौतम वंशको ऐतिहासिक यात्रालाई बुझ्ने क्रममा गोतामकोट विशेष महत्वको स्थानका रूपमा देखिन्छ। तत्कालीन सिंजा प्रदेशको प्रभाव जुम्ला, रुकुम, दैलेख, सल्यान, जाजरकोटलगायत क्षेत्रमा फैलिएको इतिहाससँग गौतम वंशको सम्बन्ध जोडिन्छ। ऋतुभद्रपछि आठौँ पुस्ताका काशीदास सोही क्षेत्रमा आई बसेको र उनका सन्तान अत्रिगोत्रीय ब्राह्मणलाई राजगुरुका रूपमा सम्मान गर्दै गोतामकोट क्षेत्र विर्ता प्रदान गरिएको वंशपरम्परागत विवरण पाइन्छ। हालको पश्चिम रुकुममा रहेको गोतामकोट गौतम बन्धुहरूको ऐतिहासिक तथा पितृ–उद्गमस्थलका रूपमा महत्वपूर्ण मानिन्छ।

डिजिटल वंशावली : हाम्रो ऐतिहासिक सम्पदा

गौतम बन्धु राष्ट्रिय समाजले विगतमा विभिन्न समयमा संकलन गरिएका वंशावली तथा वंशसम्बन्धी तथ्यांकलाई प्राथमिकतामा राख्दै २०७९ सालमा पहिलोपटक डिजिटल/अनलाइन गौतम वंशावली सार्वजनिक गरेको हो। नयाँ पुस्ताका सदस्यहरूलाई क्रमशः थप्दै लैजान सकिने गरी विकास गरिएको यस डिजिटल वंशावलीमा देशका पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानमा रहेका गौतम परिवार तथा शाखाहरूलाई समेट्ने प्रयास गरिएको छ।

वंशावली संकलनको इतिहासमा साविक ताप्लेजुङ साँघु तथा हाल दमक निवासी पण्डित भवानीप्रसाद गौतमको योगदान विशेष उल्लेखनीय छ। उहाँले वि.सं. २०१४ देखि २०४० सालसम्म निरन्तर वंशावली खोज–अनुसन्धान गरी विभिन्न १० वटा पुस्तिका प्रकाशन गर्नुभएको थियो। उहाँको अनुसन्धान नेपालका विभिन्न भूभागदेखि भारतका आसाम र मणिपुरसम्म पुगेको थियो।

उक्त सामग्रीलाई आधार बनाएर गौतम समाज नेपालले खेमलाल गौतम, झापाको नेतृत्वमा वि.सं. २०५८ र २०६९ मा गौतम वंशावलीका दुई संस्करण प्रकाशन गरेको थियो। विशेषगरी २०६९ सालको वंशावलीका लागि खेमलाल गौतमले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लामा पुगेर तथा भारतका सिक्किम, आसाम, भुटान र मणिपुरसम्म पुगेर वंशसम्बन्धी विवरण संकलन गर्नुभएको थियो।

यस ऐतिहासिक सामग्रीलाई डिजिटल स्वरूपमा विस्तार गर्न सोभित थापाले वेबसाइट विकासमा महत्वपूर्ण प्राविधिक योगदान दिनुभएको छ। त्यसैगरी टीकाराम गौतम, प्रकाशमणि गौतम, दधिराम नेपाललगायत वंशावली संकलन, सामग्री व्यवस्थापन, डाटा प्रशोधन तथा अनलाइन प्रकाशनमा योगदान पुर्‍याउने सम्पूर्ण बन्धु तथा सहयोगीहरूप्रति समाज हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

यस वंशावलीको अर्को महत्वपूर्ण विशेषता भनेको महिला सदस्यहरूको समावेशी सहभागिता हो। विगतमा प्रकाशित धेरै वंशावलीमा पुरुषतर्फका नाम मात्र समावेश हुने गरेको भए पनि यस डिजिटल वंशावलीमा उपलब्ध भएसम्म हजुरआमा, आमा, बुहारी, छोरी तथा अन्य महिला सदस्यहरूको विवरणसमेत समावेश गर्ने प्रयास गरिएको छ। यसले वंशावलीलाई परिवारको समग्र इतिहाससँग जोड्ने आधार तयार गरेको छ।

स्थापनादेखि सामाजिक अभियानसम्म

गौतम बन्धु राष्ट्रिय समाजले आफ्नो स्थापनादेखि नै संगठन विस्तार, बन्धु भेटघाट, वंशावली संरक्षण, ऐतिहासिक स्थलको पहिचान तथा भ्रमण, सांस्कृतिक कार्यक्रम, सम्मान तथा सामाजिक सहकार्यका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

समाजको पहिलो सार्वजनिक कार्यक्रमका रूपमा २०७९ चैत्र २५ गते बुद्धनगर पार्टी प्यालेसमा डिजिटल वंशावली लोकार्पण, प्रथम भित्तेपात्रो विमोचन तथा प्रथम गौतम बन्धु राष्ट्रिय भेला सम्पन्न भएको थियो। वैदिक मन्त्र उच्चारणसहित उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा बामदेव गौतम तथा विशिष्ट अतिथि र विभिन्न क्षेत्रका प्रतिष्ठित गौतम बन्धुहरूको उपस्थिति रहेको थियो।

त्यसपछि समाजले विभिन्न जिल्लामा बन्धु भेटघाट तथा स्थानीय इकाई गठनलाई निरन्तरता दिँदै आएको छ। काभ्रेपलाञ्चोकको रोशी–रघुचौर, चौरीदेउराली, गोतामकोट, बढैयाताल, गल्कोटलगायत स्थानमा स्थानीय तहका इकाई तथा बन्धु सञ्जाल विस्तार भएका छन्।

समाजले नयाँ पुस्तालाई आफ्नो इतिहास र उद्गमस्थलसँग जोड्ने उद्देश्यले गोतामकोट भ्रमणलाई पनि विशेष प्राथमिकता दिएको छ। २०८१ सालमा आयोजित भ्रमणका क्रममा पश्चिम रुकुमको आठबिसकोट नगरपालिका–४, गोतामकोटस्थित मालिका मन्दिर परिसरमा महर्षि अत्रिको स्तम्भ निर्माणका लागि शिलान्यास गरिएको थियो। यस अवसरमा विभिन्न जनप्रतिनिधि, स्थानीय व्यक्तित्व तथा देशका विभिन्न जिल्लाबाट आएका गौतम बन्धुहरूको सहभागिता रहेको थियो।

गोतामकोट भ्रमणका क्रममा विभिन्न जिल्लाका गौतम बन्धुहरूसँग भेटघाट, परिचय तथा अन्तरक्रिया गर्दै प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली तथा खिदिमलगायत ऐतिहासिक तथा धार्मिक स्थलको समेत भ्रमण गरिएको थियो। साथै, गोतामकोटमा समाजको तर्फबाट जग्गा खरिद गरी गौतम समुदायको ऐतिहासिक धरोहरका रूपमा संरक्षण गर्ने पहलसमेत अघि बढाइएको छ।

संगठनात्मक विस्तार

समाजले बन्धुहरूलाई स्थानीय तहदेखि प्रदेशस्तरसम्म जोड्ने उद्देश्यले प्रदेश समन्वय समिति, जिल्ला समन्वय समिति तथा इकाई समितिहरू गठन गर्दै संगठन विस्तार गरेको छ।

हाल समाजको संगठनात्मक उपस्थिति ताप्लेजुङदेखि धनगढीसम्म र पूर्वदेखि पश्चिम नेपालका विभिन्न जिल्लासम्म फैलिएको छ। बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रदेश समन्वय समितिहरू गठन भएका छन्। त्यस्तै ताप्लेजुङ, सुर्खेत, अर्घाखाँची, रुपन्देही, काठमाडौं, रुकुम पूर्व, रुकुम पश्चिम, रौतहट, नुवाकोटलगायत जिल्लामा जिल्ला तथा स्थानीय इकाई समितिहरू गठन हुँदै आएका छन्।

यस संगठनात्मक विस्तारले गौतम बन्धु राष्ट्रिय समाजलाई केवल काठमाडौं केन्द्रित संस्था नभई देशका विभिन्न भूगोलमा रहेका गौतम बन्धुहरूलाई जोड्ने राष्ट्रिय सञ्जालका रूपमा विकास गर्ने आधार तयार गरेको छ।

बन्धु मिलन, सम्मान र सांस्कृतिक अभियान

समाजले विभिन्न अवसरमा शुभकामना आदान–प्रदान, भित्तेपात्रो विमोचन, बन्धु भेटघाट, आजीवन सदस्यता प्रमाणपत्र वितरण तथा ज्येष्ठ बन्धुहरूको सम्मान गर्दै आएको छ। ज्येष्ठ नागरिक तथा अग्रज बन्धुहरूको योगदानलाई सम्मान गर्ने परम्परालाई समाजले सामाजिक संस्कारकै रूपमा अघि बढाएको छ।

गौतम समुदायको मौलिक संस्कृति, धार्मिक परम्परा र सामाजिक सम्बन्धलाई बलियो बनाउन अत्रि गोत्रीय भजन, सांस्कृतिक कार्यक्रम तथा कुलमन्दिरसँग सम्बन्धित गतिविधिमा समेत समाजले सहभागिता जनाउँदै आएको छ।

हाम्रो उद्देश्य

गौतम बन्धु राष्ट्रिय समाजको मूल उद्देश्य गौतम समुदायको एकता, इतिहास, वंश परम्परा र सामाजिक सम्बन्धलाई सुदृढ बनाउनु हो। यसका लागि समाजले—

  • गौतम वंशको इतिहास तथा वंशावलीको संरक्षण र अनुसन्धान गर्ने,
  • डिजिटल वंशावलीलाई थप व्यवस्थित र अद्यावधिक बनाउने,
  • देश–विदेशमा रहेका गौतम बन्धुहरूलाई एउटै सञ्जालमा जोड्ने,
  • ऐतिहासिक उद्गमस्थल तथा धरोहरहरूको संरक्षण गर्ने,
  • बन्धुबीच आपसी सद्भाव, सहयोग र सहकार्य बढाउने,
  • नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कार र पहिचानसँग जोड्ने,
  • सामाजिक तथा सांस्कृतिक गतिविधिलाई संस्थागत रूपमा अघि बढाउने

कार्यलाई प्राथमिकतामा राखेको छ।

हाम्रो प्रतिबद्धता

गौतम बन्धु राष्ट्रिय समाज कुनै एक व्यक्ति, क्षेत्र वा पुस्ताको मात्र संस्था नभई सम्पूर्ण गौतम बन्धुहरूको साझा संस्थाका रूपमा अघि बढ्ने विश्वास राख्दछ। विगतमा वंशावली संकलनदेखि डिजिटल प्रविधिमार्फत त्यसलाई नयाँ पुस्तासम्म पुर्‍याउने कार्यमा योगदान गर्ने अग्रज, अनुसन्धानकर्ता, बन्धु, प्राविधिक तथा शुभेच्छुकहरूको योगदानलाई समाजले सदैव सम्मान गर्नेछ।

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण गौतम बन्धुहरूको सहयोग, सद्भाव र सुझावलाई आत्मसात् गर्दै समाजले एकता, इतिहासको संरक्षण, सामाजिक सद्भाव र साझा हितलाई आफ्नो यात्राको मूल आधार बनाएको छ।

गौतम बन्धु राष्ट्रिय समाज — हाम्रो इतिहास, हाम्रो वंश, हाम्रो पहिचान र हाम्रो साझा एकता।

जय बन्धु !