पुर्खु र वायुपूजा
विष्णुचन्द्र गौतम चन्दनपुर, संखुवासभा हाल सु.न.पा.–९, भक्तपुर
करिब वि.सं. सत्र सयको शुरु तीर पुर्खु अर्थात पुरुषोत्तम पाध्या गौतमको जन्म भएको थियो । उनका हजुरबुवाको नाम सुकरु (३४) र बुवाको नाम गंगाधर (३५) थियो । गंगाधर ठूलासाधक थिए । त्यसैले राजा खुशी भएर उनको परिवारलाई हालको काभ्रेको चौरी देउराली क्षेत्र विर्ताको रुपमा दिएका थिए । पुर्खुकी आमाको नाम भने कहि कतै हालसम्म फेला परेको छैन । उनका दुइजना भाइहरु नारायणदास र प्यारीलाल थिए । पुर्खु वेद,पुराण र ज्योतिषशास्त्रका ठूला ज्ञाता थिए । उनको यही क्षमताको कारण सेन राज्य मकवानपुरका राजा हरिहर इन्द्रसेनले राजज्योतिषिका रुपमा उनलाई नियुक्त गरेका थिए । उनी राजाका ठूला विश्वास पात्र थिए । राजा हरिहर इन्द्रसेन जसलाई “हिन्दुपति माहाराज”पनि भनिन्थ्यो, उनले पूर्वी नेपालतीर आफ्नो राज्य विस्तार गरेका थिए । त्यो बेलामा मकवानपुर निकै शक्तिशाली राज्य थियो । सोही कारण यसको चर्चा परिचर्चा यत्र तत्र सर्वत्र हुने गरेको थियो । राजा हरिहर इन्द्रसेनले आफ्नो हरेक लडाइँ आफ्ना प्रमुख राज ज्योतिषि पुरुषोत्तम पाध्याले निकालेको साइतमा मात्र गर्दथे । यसरी उनले निकालेको शुभ साइतमा आक्रमणगर्दा राजा सधै विजयी हुने गरेका थिए । राजाले हारको सामना गर्नुपरेको थिएन । राजा पुर्खुले निकालेकै साइतमा पूर्वी पहाडका राज्यहरुले आक्रमणका लागि निस्किए । राजाले ती राज्यहरुमा सहज रुपमा विजय प्राप्त गर्दै अगाडि बढे । हरेक लडाइँ र आक्रमणहरुमा राजाले पुर्खुलाई पनि साथै लगेका हुन्थे । माझ किराँत सम्मका राज्यहरुमा राजाले आफ्नो नियन्त्रण कायम गरिसकेका थिए । पल्लो किराँत हाल संखुवासभा जिल्ला अन्तर्गत पाँचखापन न.पा.मा पर्ने लिङ् लिङ्, वानामा विजय हासिल गरिसके पछि थप विजय हासिल गर्नका लागि अब शुभ साइत नरहेको भनी राजालाई पुर्खुले जानकारी गराए । त्यसपछि राजाले आफ्नो विजय यात्रालाई त्यही रोकेर त्यहाँका स्थानीय हाङ्हरुसँग सन्धि गरी आफ्नो राजधानी फर्कने निधो गरे । तर पुर्खु फर्केनन् । उनले आफुलाई यही ठाउँ मन परेको र यतै बस्ने भनी अनुरोध गरे । यसका लागि आफुलाई सानो फुलबारी बक्सियोस भनी विन्ती गरे । राजाले भोजपुर दिङ्ला अन्तर्गत पर्ने मार्से, आम्बोटे र मरुवा पहिले नै विर्ता दिइसकेका थिए र हाल पाँचखापन न.पा. अन्तर्गत पर्ने लिङ् लिङ् पनि विर्ता दिए । राष्ट्रिय अभिलेखायलयको मुखपत्र ‘प्राचीन नेपाल’ पत्रिकामा प्रकाशित रमेश ढुङ्गेलको लेख अनुसार संखुवासभा चैनपुरमा यसै समयमा
राजा हरिहर इन्द्र सेनले दिएको लालमोहर पनि प्राप्त भएको छ । यसमा मिति वि.सं.१७३३ उल्लेख भएको छ । यस कारणले पुर्खुले विर्ता यसै समयमा पाएको अनुमान गर्न सकिन्छ । विर्ता पाएको छोटो समय पछि नै उनको हत्या भएको कारण हुनसक्छ कागजातहरु हालसम्म कतै उपलब्ध हुन सकेका छैनन् । राजा आफ्नै राजधानी फर्किए तर पुर्खु फर्केनन् । लिङलिङमा आफ्नो दिनचर्या गर्न थाले । यसै क्षेत्रका केही उग्र स्वभावका केही स्थानीयहरुलाई पुर्खु कति पनि मन परेको थिएन । पुर्खुकै कारण उनीहरुलाई आफुले राज्य सत्ता गुमाउनु परेको लागेको थियो । उनीहरु दिङ्ला सकाएर आएको बाहुनले आफुहरुलाई पनि सकायो भन्दथे । पुर्खुकी श्रीमती गोकुलमाला दिङला विर्ताको रेखदेखगर्न गएको बेलामा एक्कासी ति उग्र स्वभावका स्थानीयहरु ले आक्रमण गरी जेष्ठ शुक्ल पक्षको समय विहिबारको दिनमा भाला रोपेर पुर्खुलाई निर्मम तरिकाले मारिदिए । जुन बेला उनी शुक्ल यजुर्वेदको चौविसौं अध्याय सकेर पच्चिसौं अध्यायको पहिलो मन्त्र शादन्दद्भी लेख्दै थिए । पुर्खुको शरिर रक्ताम्य भएर
भुँइमा लडेको थियो । पुर्खुलाई मारेर मात्रै ति मानिसहरुको चित्त बुझेन यसको वंश नाश गर्नुपर्छ भनेर उहाँको छोरालाई पनि खोज्न थाले । तर भेट्न सकेनन् किनकी उनका एक मात्र छोरा रामकृष्णलाई उनका सहयोगी मनिपुरे भुजेलले जसलाई विरेदादा पनि भनिन्छ तरुल खनेको खाल्डोमा कसैले पराल भित्र पनि भनेका छन् लुकाई राखेका थिए । मनिपुरेले आफुले पकाएको
भात ति बालकलाई दिने भनेर अलिकति चोखो राखेका थिए । ति हत्यारा मानिसहरुले यो भात कसलाई राखेको भनि सोधे, विरेदादा (मनिपुरे) ले आफुले खाई सक्दिन की भनेर चोखो राखेको भनिदिए र पछि सो भात त्यो बालकलाई खुवाईदिए । भोलिपल्ट आधा रातमा नै उठेर बालकलाई उसको मामाघर हालको भोजपुर दामाको लप्सीबोटे पु¥याइदिए । बालक सुरक्षित
रहे । उता आफ्नै घरमा रहेकी पुर्खुकी बहिनी भगिरथी र सानी छोरी उमालाई लिएर दाजुलाई भेट्न लिङ्लिङ् तिर आउँदैथिइन । तर अरुण नदी हालको तुर्के घाटमा डुङ्गा तर्न लाग्दामाझिले दाजुलाई मारिसकेको घटना सुनाइदिए । यो सुन्न नसकी अरुण नदीमा छोरी सहित हाम्फालिन र आफ्नो देहत्याग गरिन् ।
उता लिङ् लिङ् र यसको वरपरको क्षेत्रमा पुर्खुलाई काटेर मारिसकेपछि उपद्रव मच्चियो । मानिसहरु रगतै छादेर मर्न थाले । पशु चौपायाहरु प्नि भटाभट मर्न थाले । कसैले केही गर्न सकेन । केही बुझ्नै सकेन । पुरै क्षेत्रमा हाहाकार मच्चियो । समय बित्दै गयो । रामकृष्ण ठूला भए र उनको विहेबारी पनि भयो । उनीबाट ६ भाई छोराहरुको जन्म पनि भयो । तर पुर्खुलाई मारेदेखि अशान्त रहेको लिङ लिङ क्षेत्रमा सुख शान्ति छाउन सकेन । विभिन्न उपायहरु र विधिहरु अपनाइए, कसैको केही सीप लागेन । चर्न गएका गाइवस्तुहरु घर नफर्किएको लामो समय भइसकेको थियो । मानिसहरुको मन अशान्त रहिरहेको थियो । बिस्तारै–बिस्तारै मानिसहरुले कुरा बुझ्न थाले । शान्ती ल्याउन सक्ने पुर्खुका छोराको खोजी भयो । उनलाई खोजी गरेर लिङ् लिङमा ल्याइयो । पुर्खुको विर्ता क्षेत्र पुरै जङ्गला मुलुक भइसकेको थियो मानिसहरु यहाँ आफू जान र गाइबाख्रालाई चरनको लागि पठाउन सक्दैनथे किनकी त्यहाँ जो कोही पनि गए फर्केर आउदैनथे । रामकृष्ण जब त्यहाँ आइपुगे नडराइकन आफ्ना पितालाई मारेको स्थलतर्फ गए । मान्छेहरु सबै खुवै डराएका थिए । मान्छेहरु अब उनी फर्केर नआउने कुरा गरिरहका थिए तर रामकृष्ण त्यहाँ गएर ध्यान,तपस्या र पूजाआजा गर्न थाले । लामो समयसम्म (कति दिनसम्म भन्ने कुरामा भने एक मत छैन)उनले पुजाआजा र तपस्या गरेर एउटा छोराले आफ्नो पिता प्रति गर्नुपर्ने सबै कर्म पूरा गरिदिए । झण्डै एक महिना पछि उनी यो ठाँउबाट बाहिर आए । मानिसहरु यो सबै देखेर तिन छक्क परे । अब भने यो ठाउँमा हुने गरेको उपद्रव शान्त भयो । मानिसहरुमा सुख सन्तोष फैलियो ।
उता पुर्खुकी श्रीमती गोकुलमाला आफ्ना पतिको हत्या भइसकेपछि परिवारले विर्ता पाएको स्थान हाल काभ्रेको चौरी देउराली गइन किनकी उनलाई लिङ लिङ फेरी फर्केर जान सुरक्षाको डर थियो । उनका देवरहरु यही ठाउँमा बसोबास गर्दथे । तर छेउ छाउकाले पोलेर बाहुनले धेरै विर्ता पाएको भनेर रिस गर्नेहरुले त्यो विर्ता विरुद्ध मुद्दा हालेका थिए । उता श्रीमानको हत्या हुनु र यता को विर्तामा पनि मुद्दा पर्नुले गोकुलमायालाई असह्य भएको थियो । भनिन्छ आफूले न्याय नपाउने अवस्था देखिपछि उनले अदालत अगाडि देह त्याग गरेकी थिइन् । पछि साँच्चै अन्याय भएको भन्ने त्यतिखेरको अड्डाले बुझेर सम्पूर्ण विर्ता फिर्ता दिएको थियो । रामकृष्णले लिङ लिङको अवस्थालाई सुधार गरिसकेपछि त्यहाँ पूर्खु, भान्जी र बहिनीको प्रतिमा स्थापना गरे । जसमा पछि रामकृष्णका अनुयायीहरुले सुकलेश्वर मन्दिरको स्थापनागरे । यस मन्दिरमा भट्टराई थरका ब्राहमणहरुबाट नित्य पुजा हुने गरेको छ । रामकृष्णले वायु पूजा गर्ने क्रमको शुरुवात गरे । वायुपूजा गर्न स्थललाई वायुथान भनिन्छ र पुर्खुका सन्तानले मात्रवायु पुजा गर्ने चलन रहेको छ । पछि रामकृष्ण सुकलपुरी महाराजको नामले प्रसिद्ध भए । शंकराचार्य परम्पराका अनुयायी बने । पुर्खुलाई ‘बुढा बराज्यै’ उनकी बहिनीलाई ‘बहिनी बज्यै’ र भान्जीलाई ‘भान्जी बज्यै’ भनेर पुर्खुका सन्तानहरुले वायु देवता मान्ने गरेका छन् । हरेक वर्ष वैशाख पुर्णिमा र मंसिर पुर्णिमामा धुप हाल्ने गर्दछन् र पुर्खुका सहयोगी विरेदादा लाई पनि पुर्खुका छुट्टै राखेर धुप हाल्ने र पुजा गर्ने चलन रहेको छ । नारायणदास र प्यारीलालका सन्ततीहरुले भने गोकुलमालालाई पनि मातृशक्तिको रुपमा पूजा गर्दछन् तर पुर्खुका सन्ततीहरुले भने उनलाई कही कतै पुज्ने गरेको बुझिएको छैन । पुर्खुका सन्ततीहरुले वायु देवता लाई आफ्नो परिवारको रक्षक मान्दछन् । केही आपतविपत पर्दा बुढा बराज्यै भनेर उनकै नाम लिने गर्दछन् ।पुर्खुका सन्ततीहरु नेपालमा मात्रै होइन भारत, भुटान, म्यानमार लगायतका धेरै देशहरुमा छरिएर रहेका छन । पुर्खुको जय होस । बुढा बराज्यैको जय होस । हामी सबैको रक्षा होस ।