दानवीर श्री हरिहर गौतम - युवराज गौतम
गौतम कुलमा ३ जना व्यक्तिको नाम उल्लेखनीय रहेको छ । यी तीन नक्षत्रहरू हुन् – एक अध्यात्म क्षेत्रबाट ठूलो प्रसिद्धि पाएका स्वर्गद्वारी महाप्रभु श्री बालतपस्वी । दोस्रोमा नेपाल र भारत (काशी) मा समेत अत्यन्त ख्याति प्राप्त ठूला विद्वान् विद्वच्छिरोमणि श्री कुलचन्द्र गौतम र तेस्रोमा पश्चिम नेपालका अति सम्पन्नशाली व्यक्तित्व श्री हरिहर गौतम ।
उपर्युक्त तीनै विशिष्ट व्यक्तिहरू ऐतिहासिक भैसक्नुभएको छ । उहाँहरूमध्ये श्री हरिहर गौतमको संक्षिप्त परिचय यस लेखमा प्रस्तुत गरिएको छ ।
हरिहर गौतमको जन्म विक्रम सम्वत् १९५८ साल मार्ग शुक्ल पञ्चमीका दिन जलेश्वर, महोत्तरीमा भएको हो । उहाँका पिताको नाम तारानाथ गौतम र माताको नाम टीकाकुमारी हो । उहाँको स्थायी बसोबासको घर अर्घाखाँची जिल्लाको खिदिम, पोखराथोक हो । राणाकालमा उहाँका पिताजी जागिरे भई सुब्बाको पदसम्म प्राप्त गर्नु भएको र जागिरकै सिलसिलामा जलेश्वरमा कार्यरत रहँदा हरिहरजीको त्यहीं जन्म भएको हो । हरिहर गौतम सानै उमेरदेखि प्रखर बुद्धिका प्रतिभाशाली व्यक्तिहुनुहुन्थ्यो । पण्डित दधिराम मरासिनीबाट उहाँको प्रारम्भिक शिक्षाको साथै उपनयन (व्रतबन्ध) संस्कार मन्त्रदीक्षा भयो । संस्कृत व्याकरण आदिको शिक्षा पनि गुरुबाटै सम्पन्न भएको थियो । हरिहर गौतम वैदिक सनातन धर्म एवं आर्य संस्कृतिका अनुयायी, निष्ठावान्, साधक र कर्मठ व्यक्ति हुनुहुन्थ्यो ।
सम्पन्न परिवारमै जन्मेका हरिहर आफ्नो पैतृक सम्पत्ति (वर्दिया १० मौजा ) मा समय अनुसार अझ वृद्धि गर्ने महत्वाकांक्षा लिई प्रौढ अवस्थासम्ममा खिदिम, बर्दिया, बाँके, कपिलबस्तु, काठमाडौं, त्रिशुली र दाङमा समेत गरी करीब सोह्रहजार(१६०००) विघा जमीन आर्जन गरी नेपाल अधिराज्यकै धनाढ्य एवं सम्पन्नशाली व्यक्तिहरू (जमीनदारहरू) मध्येमा गनिनुभएको थियो ।
अथाह सम्पत्ति खास गरी हजारौं विगाहा जग्गा तराई बर्दियामा भएका व्यक्ति हरिहर धेरैजसो उतै बस्ने हुनाले पहाड घर खिदिम कमै जाने गर्नुहुन्थ्यो । एक समयको कुरा हो– खिदिम गएको बेला आफ्नो घरमा रहेको धान भुईंमा छितरिएको देखेपछि उहाँको मनमा केही विचार आएछ । हुन त त्यो धान बर्सेनी जसो बिक्री गरी नगद पार्ने चलन थियो तापनि आफ्ना गुरु पंं.दधिरामलाई देखाउँदा गुरुले त्यो धान अनाजबाट संस्कृत विद्यालय संचालन गर्न सल्लाह दिनुभएछ । त्यही सुझावबाट प्रेरणा लिएर १९९४ सालमा आफू ३६ वर्षको हुँदा ३६ जना छात्रहरूलाई भोजन एवं आवासको व्यवस्था गरी संस्कृत पाठशाला संचालन गर्ने संकल्पका साथ गुरु पंं.दधिरामलाई नै प्रधान अध्यापक तोकी पाठशाला संचालन गर्ने अभिभारा पनि उहाँलाई नै दिई हरिहरजीले संस्कृत विद्यालयको स्थापना गर्नुभयो । उक्त पाठशालामा आवश्यकता अनुसार अन्य अध्यापकहरू पनि नियुक्त गरिए र शुक्ल यजुर्वेद, संस्कृत व्याकरण कौमुदी, कोश र काव्यहरू पढाउने व्यवस्था भयो ।
त्यस बखत, राणकालमा शिक्षाको व्यवस्था नभएको समयमा, एक व्यक्ति विशेषबाट विद्यालय भवनको व्यवस्था, अध्यापकहरूको तलब आदिको व्यवस्था एवं ३६ जना छात्रहरूलाई आवास भोजन आदिको प्रबन्ध गरी क्रमशः प्रतिवर्ष १ जना छात्र थप गर्दै जाने नीति अनुरूप भर्ना गर्ने र पढाउने व्यवस्था गरियो । निश्चय नै यो साधारण काम थिएन ।
राजधानी काठमाडौंमा सरकारबाट संचालित रानीपोखरी संस्कृत प्रधान पाठशाला पछि, भोजपुरको दिङ्ला, जनकपुरको मटियानी र रिडी रूरू क्षेत्रको संस्कृत पाठशालाहरू भन्दा खिदिमको हरिहर पाठशालाले पढाई र प्रबन्धको दृष्टिले धेरै प्रसिद्धि पायो । त्यहाँ अध्ययनरत विद्यार्थीहरूले पूर्वमध्यमा सम्मको पढाई पूरा गरेपछि उनीहरूलाई परीक्षा दिनका लागि बनारस (काशी) पठाउने गरिन्थ्यो । काशीमा पनि हरिहर संस्कृत पाठशाला स्थापना गरी विद्यार्थीहरूलाई समुचित छात्रवृत्ति रकम उपलब्ध गराई संस्कृतमा मध्यमा (आई.ए.) सम्मको अध्यय गराउने व्यवस्था भयो । यसले गर्दा पश्चिमाञ्चल क्षेत्रका अधिकांश जिल्लाका व्यक्तिले पढ्ने सुअवसर पाए । वस्तुतः हरिहर संस्कृत पाठशालाले सामान्यतः अधिराज्यव्यापी विशेष गरेर पश्चिमाञ्चल क्षेत्रमा शिक्षाको ज्योति फैलाएको हो ।
वर्तमान अवस्थामा–प्रारम्भमा उक्त विद्यालयमा अध्ययन गरेका छात्रहरू डाक्टर, इन्जिनियर, प्राध्यापक, वरिष्ठ प्रशासक एवं नेता र मन्त्री समेत भएका धेरै उदाहरणहरू छन् । यसरी हरिहरले आफ्नो अथक प्रयास र दुःखले आर्जित गरेको सम्पत्ति आफ्नै मोजमस्तीमा पनि लगाउन सक्नुहुन्थ्यो र धेरैले यस्तो गरेका पनि छन् , तर उहाँले त्यसो नगरी स्वआर्जित सम्पत्तिको अधिकांश हिस्सा शिक्षा विकासमा लगाउनुभयो । त्यसैले उहाँलाई महान् शिक्षाप्रेमी, शिक्षाप्रवर्तक र शिक्षाप्रवद्र्धक भन्नु अत्युक्ति नहोला ।
विक्रम सम्वत् २०२२ सालमा हरिहर गौतम दिवंगत हुनु भएपछि उल्लिखित खिदिमको हरिहर पाठशाला संचालनमा आर्थिक कठिनाइले बाधा पर्न गएको थियो । तर उहाँको शेषपछि हरिहरजीका सुपुत्रद्वय विष्णुहरि गौतम र लक्ष्मीहरि गौतमले पिताश्रीको आकांक्षालाई ध्यानमा राखी कपिलबस्तु जिल्लामा राजमार्ग नजिक रहेको आफ्नो पैतृक ६८ विघाहा जग्गा उक्त पाठशालालाई प्रदान गर्नुभएकोले विद्यालयले निरन्तरता पाएको छ र हाल सम्पन्न विद्यालयको रूपमा संचालित पनि छ ।
हरिहर गौतमको शिक्षा क्षेत्रमा विशेष योगदानका अतिरिक्त धार्मिक जीवनशैलीका क्रियाकलापहरू र केही विकास सम्बन्धी कार्यहरू पनि उल्लेखनीय रहेका छन् । माथि पनि उल्लेख भएको छ कि उहाँ वैदिक सनातन धर्मका कट्टर अनुयायी, निष्ठावान् धार्मिक व्यक्ति हुनुहुन्थ्यो । त्यसैले उहाँले प्रातःकाल ४ बजे स्नान गरेर गायत्रीजप, पूजापाठ, नित्य, तर्पण बलिवैश्वदेव गरी दैनिक ३ घण्टा लामो नित्यकर्म गर्ने गर्नुहुन्थ्यो । आफ्नो जीवनकालमा उहाँले गायत्री पुरश्चरण, सहस्र शिवलिंग पूजन, शतरुद्री, धान्यपर्वत महायज्ञ, चारै धाम लगायतका तीर्थाटन, १०८ शैप्यादान, गोदान, लक्षहोम, आदि धार्मिक कृत्यहरू गर्नुभएको थियो ।
विकासतर्फ पनि उहाँको रुचि रहेको देखिन्छ । विक्रम सम्वत् १९९२ सालमा अर्घाखाँची जिल्लाको डाँडा कटेरीदेखि कोप्चा भन्ने ठाउँसम्मको घोडेटो बाटो बनाउनुभएको र त्यस्तै खिदिमदेखि मधेश(तराई)जाने अतिविकट दह भन्ने ठाउँको बाटो विस्तार गरी मानिस र पशुवस्तुलाई समेत आवत–जावत गर्न सुगम तुल्याइएको थियो । बर्दिया जिल्लाको सदर मुकाम गुलेरियास्थित तत्कालीन मिडिलस्कूल (हाल नयाँ नामाकरण भएको महाकवि लक्ष्मीप्रसाद देवकोटा हाईस्कूल) को निर्माण र विस्तार कार्यमा पनि आर्थिक सहयोग गर्नुभएको थियो ।
यसरी हरिहर गौतमको जीवनी हेर्दा– उहाँ सनातन वैदिक हिन्दू धर्मका निष्ठावान् साधक, शिक्षा विकासका प्र्रणेता , उदार दाता एवं विकासप्रेमी भएको देखिन्छ र साँच्चै नै उहाँलाई दानवीर हरिहर भन्नु सही र सार्थक सिद्ध हुन आउँछ ।