गोताम र गोतामे (गौतम) थर

गोताम र गोतामे (गौतम) थर– भुवनेश्वर उपाध्याय गौतम, भु.पू.रा.प.स. रुकुम  


    ‘ गोताम’ भन्ने प्रसिद्ध स्थान रुकुम जिल्लामा पर्छ । रुकुम कोटको ठीक उत्तरमा यो गोताम भन्ने ठाउँ छ । रुकुम जिल्ला भित्र पर्ने गोताम र जुम्ला जिल्लाका १८ दरा मध्ये भोटान दरा ( हाल डोल्पा जिल्ला ) सिमाना जुधेको छ । त्यस जुधेको ठाउँलाई कवगाड भन्दछन् । रुकुम कोटको उत्तरमा रहेको सो गोतामकोट भन्ने ठाउँ डोल्पा जिल्लाबाट बगेर आएको ठूलो भेरी नदीको देब्रे किनारामा अवस्थित छ । गोताम एउटा रमणीय उपत्यका हो । रुकुमकोट, मुसीकोट, गोतामकोट, आठबीसकोट , वौफीकोट, समेतका यी सबै कोट (ठाउँ ) हरू रुकुम का नमुना हुन् । 
गोतामे ब्राह्मणका साथै जैसी, खत्री, दमाई आदि बसेको ठाउँ र निजहरूले चर्चेका खेत, पाखा,वन–बुट्यान सबैलाई आला जफती भनिन्छ  भने अन्य जातहरू जस्तै ठकुरी , नेवार, गुरुङ्ग, छन्तेल , कामी , सार्कीहरू बसेको ठाउँलाई आला रैकर भनिन्छ । यी दुवै नाम माल अड्डाको श्रेस्तामा किटिएको छ । 
अघि गोतामे ब्राह्मणहरूको गोतामदेखि रुकुमसम्म बीर्ता थियो । पछि श्री ५ रणबहादुर शाहका पालामा ( १९६२ सालमा ) भएको बीर्ता जफत भन्ने अर्थमा जफती भनिएछ । अनि त्यसैलाई आला जफती र वीर्ता बाहेक अरू खेत भएका ठाउँलाई आला रैकर भन्ने नामबाट श्रेस्ता खडा गरिएको भनिन्छ । 
यस क्रममा एउटा जनश्रुति पनि छ । त्यो के भने रुकुमकोटका पुराना साविक राजाको नाम बोगसा जाट ( स्थानीय बोलीमा बोक्से जाट पनि भनिन्थ्यो , तर जाट भनेको भोट प्रदेशको भन्ने हुनाले भोटे राजा पनि भन्ने सकिन्छ ) थियो । ऊ शोषक र अत्याचारी भएकोले गाउँकै जनता मिलेर उसलाई गद्दीच्युत गरी जुम्लाका प्रतापी राजा मलय बमका छोरा प्रीत बम – पिथीबम) लाई ल्याएर रुकुमका पहिला  ठकुरी राजा बनाए । उनीपछि पाँचौं पुस्ताका दारे जैतम राजाका सन्तान र भाइ–भैयादहरू थुम, थुमका राजा भए । यिनै राजाहरू नै बाइसी राजा भनिएका हुन् । विशाल जुम्ला साम्राज्य भित्र रुकुम पनि पर्ने हुनाले रुकुमकोट पनि बाइसी राज्यहरू मध्ये नै एक राज्य भएको देखिन्छ । 
गोतामे भन्ने थर कसरी भयो भन्ने कुरा दुई , तीन सम्भावनाहरू देखा पर्छन् । गोतामका बस्ने हुनाले गोतामे भनिएको एउटा अर्थ लगाइन्छ भने बुढा, पाकाहरूको भनाइ अनुसार जुम्लाका सम्राट् मलय बमले अत्रिगोत्रीय ब्राह्मणलाई खत्याड वीर्ता दिई खत्यौडा      (खतिवडा ) पदवी दिए जस्तै अत्रिगोत्रीय ब्राह्मणलाई नै गोताम बिर्ता दिई गोतामे पदवी समेत दिएका हन् । गोताम भन्ने बीर्ता र गोतामे भन्ने पदवी पाएका प्रथम अत्रिगोत्रीय ब्राह्मण काबरू (कापडी ) हुन् भनिन्छ । गोतामेहरू कसरी गौतम भए भन्ने प्रसङ्गमा कुलचन्द्र गौतमको चर्चा आउँछ । यिनी रुकुमबाट पूर्वतर्फ बसाई सरी धादिङ्ग जीवनपुरमा आई बस्ने बद्रीनाथ गोतामेका आठौं पुस्ताका वंशज कुलचन्द्र गौतमले बनारसमा गएर विद्वान् तैलङ्ग गङ्गाधर शास्त्री सी.आई.र्इं. बाट शिक्षा अध्ययन गर्दै जाँदा गोतामे किन ? गौतम भन्ने गर, यो शुद्ध पनि हुन्छ भन्ने सुझाव, सल्लाह पाएछन् । यसपछि अरू गोतमेले पनि क्रमशः गौतम थर लेख्न थालेका हुन् ।
अधिकांश गोतामेहरूले ‘मष्ट’ कुलदेवताको पूजा गर्छन् । कतै कतै भने अरू देव–देवीलाई पनि कुलदेवता मान्ने गरेको पाइन्छ । ‘मष्ट’ वा ‘मष्टा’ भनेको कसैको मतमा बराह    (विष्णुको अवतार मष्ट बराह ) को रूप हो र कसैको मतमा शिव (महोष्ठ –मष्ठ ) को रूप हो । यसबारे एउटा प्रसिद्ध संस्कृत श्लोक पनि छ – 
मादिष्टान्तो रुमादिर्लः पालान्तो वंश गोमुखौ । 
राहान्तो वो ब्राह्मणानां पञ्चैले कुलदेवता ।  

म आदि ष्ट अन्त – मष्ट । रुम आदि ल अन्त –रुमाल । पाल अन्त, वंश गो आदि – वंशपाल तथा गोपाल । राह अन्त, व आदि – बराह, यी पाँच कुलदेवता हुन् । रुकुम  , मुसीकोट र चौंरजहारीका अत्रिगोत्रीय गोतामे ब्राह्मणहरूले कुलदेवताको पूजा गर्दा बलि चढाउने चलन छैन । शुद्ध दूध र घ्यूमा बनेका परिकार मात्र चढाउने चलन छ । अर्को कुरा प्रतिवर्ष गहुँ , धान आदि बाली भित्र्याउँदा कुलदेवतालाई भनेर एक, दुई पाथी अन्न छुट्याउने चलन छ । अनि मात्र अरू अन्न भण्डारण गरिन्छ । यसरी कुलदेवतालाई छुट्याएको पहिलो बालीको अन्नलाई स्थानीय भाषामा पोल भनिन्छ । यो पोखल अन्नबाट कुलपूजाको प्रसाद बनाइन्छ । कुल पूजाको बेलामा छालाका बस्तुहरू घरभित्र भए हटाउने समेत चलन छ ।